आजबाट नयाँ वर्ष २०८२ सुरु, शुभकामनासहित देशभर उत्सव
आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन। नेपालभर नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ।
वैशाख सङ्क्रान्तिका रूपमा चिनिने आजको दिन सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्छ। यही कारण यो दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। “विक्रम संवत् आदित्य सूर्यसँग सम्बन्धित संवत्सर हो। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्षहरू पनि समावेश छन्,” भट्टराई बताउँछन्।
विद्वानहरू भन्छन्— सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष सुरु हुने भएकाले यो वैज्ञानिक पनि छ। सौरमान (सूर्य आधारित) र चान्द्रमान (चन्द्रमा आधारित) दुवैको सन्तुलन यस संवत्मा गरिएको छ। विक्रम संवत् कलियुग सुरु भएको ३०४४ वर्षपछि सुरु भएको हो...












