डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, सिलगढीस्थित आफ्नै निवासमा सोमबार बिहान करिब ५ः३० बजे ९० वर्षको उमेरमा उनको निधन भएको हो।
उनका जेठा छोरा योगेश मल्लका अनुसार मल्लको एक्कासि निधन भएको हो।
स्वर्गीय मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका पत्रकारका रूपमा चिनिन्छ। उनले वि.सं. २०१६ सालमा सगरमाथा संवादका लागि डोटी समाचारदाताको रूपमा पत्रकारिता सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१८ सालदेखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) का डोटी समाचारदाताका रूपमा लामो समय कार्यरत रहे।
पत्रकारितासँगै साहित्य, नाटक, संगीत र मूर्तिकलामा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। उनले जय दुर्गे, ध्रुव, सत्यदेव जयते, शैलेश्वरी महात्म्य, भरत मिलाप, अदृश्य हात, भविष्य बोल्छ वर्तमान, आमाको मन, भलाई, आमा, मिलाप, परिवार, जागरण, दायित्व, जाँगर, बिलौना, नारी जागरण, परिवर्तन र गाउँबेशी लगायत दर्जनौँ नाटकको लेखन तथा निर्देशन गरेका थिए। गीत लेखन र गायनमा समेत उनको उल्लेखनीय योगदान रहेको थियो।
डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिरमा रहेका अधिकांश कुँदिएका तथा निर्माण गरिएका मूर्तिहरू पनि मल्लकै सिर्जना हुन्। उनी २००४ सालमा स्थापना भएको पद्म पब्लिक माध्यमिक विद्यालयका पूर्व शिक्षकसमेत थिए।
साहित्य, पत्रकारिता र कलाक्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनले सर्वनाम पुरस्कार (२०५०), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), रासस प्रशंसापत्र (२०६०), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान (२०६७), रासस सम्मान (२०६८), नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कदरपत्र (२०७०), सुदूरपश्चिम साहित्य समाज प्रतिभाश्री सम्मान (२०६९), नेपाल लोकवार्ता तेस्रो राष्ट्रिय संगोष्ठी अभिनन्दन (२०७०) तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अभिनन्दन (२०७३) सहित दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए।
स्वर्गीय मल्लको पार्थिव शरीरको अन्त्येष्टि आज दिउँसो १ बजे सिलगढीबाट शवयात्रा निकालेर दिपायलस्थित सेती नदी किनारमा गरिने परिवारले जनाएको छ।

