बाजुरा- बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। सामान्य आँखाको उपचारका लागि समेत कोल्टी वा अन्य स्थान धाउनुपर्ने बाध्यता अब अन्त्य हुने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारीमा असार २९ गतेदेखि धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको हो। हिमाली गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित संस्थासँग समन्वय गरी केन्द्र स्थापना गर्न लागेको जनाएको छ।
स्थानीय रामबहादुर रावतले सामान्य आँखाको उपचारका लागि पनि कोल्टी अस्पताल पुग्नुपर्ने बाध्यता रहेको भन्दै अब गाउँमै सेवा उपलब्ध हुने भएपछि ठूलो राहत मिल्ने बताए।
गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीका अनुसार हिमाली गाउँपालिकाका अधिकांश बस्ती भौगोलिक रूपमा विकट छन्। सामान्य आँखाको उपचारका लागि समेत दुई–चार दिन यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न उपचार केन्द्र स्थापना गर्न लागिएको हो।
उनका अनुसार पछिल्ला वर्षहरूमा पालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको छ। धुलाचौरस्थित गाउँपालिका कार्यालय नजिक स्थापना हुने आँखा उपचार केन्द्रबाट स्थानीय नागरिकले सहज र नियमित सेवा पाउने विश्वास गरिएको छ।
भौगोलिक रूपमा जिल्लाकै दुर्गम पालिकामध्ये एक हिमाली गाउँपालिकाले स्वास्थ्यसँगै शिक्षा, सडक र खानेपानी क्षेत्रमा पनि उल्लेखनीय सुधार गरेको जनाएको छ। अहिले अधिकांश बस्तीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ भने गर्भवती महिलाले गाउँमै भिडियो एक्स–रे सेवा समेत पाउन थालेका छन्।
यसैगरी, घरघरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयले स्वच्छ खानेपानीको सुविधा पाएका छन्। सडक सञ्जाल विस्तारका लागि पालिकाले आफ्नै लगानीमा चट्टान फोड्दै सडक निर्माणलाई तीव्रता दिएको जनाएको छ।
गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्वास्थ्य, शिक्षा, सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले स्थानीय सरकार नागरिकमुखी सेवा विस्तारमा निरन्तर लागिपरेको उल्लेख गरे।

