धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
विद्यालयमा झोला वितरण कार्यक्रमका क्रममा आमाको मृत्यु भएपछि एक वर्षका भाइलाई बोकेर विद्यालय जाने कल्पनाको मार्मिक कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले तयार पारेको भिडियो व्यापक रूपमा भाइरल भएपछि देश तथा विदेशबाट सहयोग जुट्न थालेको थियो।
कल्पनाको पारिवारिक अवस्था सार्वजनिक भएसँगै विभिन्न व्यक्तिहरूले मानवीय सहयोगस्वरूप आर्थिक रकम उपलब्ध गराएका थिए। अभियानमार्फत संकलित रु ४ लाख ५० हजार रकम आज एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोग संकलनदेखि रकम हस्तान्तरणसम्म सक्रिय भूमिका निर्वाह गरेकी लक्ष्मी बोगटी कुँवरप्रति स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धन्यवाद व्यक्त गरेका छन्।
स्थानीयका अनुसार यो अभियानले आर्थिक अभावमा संघर्षरत परिवारलाई राहत पुर्याउनुका साथै समाजमा मानवीय संवेदना, सहयोग र एकताको सन्देश प्रवाह गरेको छ। परिवारले सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको जनाएको छ।

