अछाम- रामारोशन गाउँपालिकाको कार्यालय अगाडि विभिन्न विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवकले अनसन सुरु गरेका छन्। रामारोशन गाउँपालिका–५ तल्लो पातलका २४ वर्षीय तिलक बटालाले शुक्रबार साँझ ६ बजेदेखि आमरण अनसन सुरु गरेका हुन्।
बटालाले तल्लोपातल सडक, आडेखाँद सडक र अल्लेडी सडक निर्माणको अवस्था स्पष्ट गर्न तथा पर्यटकीय जयगढ–रामारोशन सडक कालोपत्रे कार्य किन अलपत्र परेको हो भन्ने प्रश्न उठाउँदै माग सम्बोधन नभएसम्म अनसन नतोड्ने बताएका छन्। तल्लो पातलमा सडक खै ?भन्दै तल्लोपातल बाट खाली खुट्टा हिडेर पालिका पुगेर अनसन सुरु गरेको हुन। जनताले वर्षौंदेखि भोग्दै आएको समस्या अनिवार्यरुपमा पुरा हुनुपर्ने बताएका छन् ।

उनले “भोट चल्ने, सडक नचल्ने”, “मत लिँदा पुग्ने, सडक दिँदा किन नपुग्ने?”, “मागेको भिक होइन, अधिकार हो”, “भ्रष्टाचारलाई जवाफदेही बना सरकार” जस्ता नारासहित संघर्ष जारी राख्ने बताएका छन्। अनसनका क्रममा उनले राष्ट्रिय झण्डा शरीरमा बेरेका छन् भने अगाडि नेपालको संविधान राखेर शान्तिपूर्ण दबाबमूलक आन्दोलन गरिरहेका छन्।
बटालाले गाउँपालिकाले विकासका लागि आएको बजेटमा कर्मचारी राखेर कमिसन खाने गरेको आरोप लगाएका छन्। अनावश्यक कर्मचारी नियुक्ति र हटाउने कार्यको कारण सार्वजनिक गर्नुपर्ने, योजना दिँदा अग्रिम तथा भुक्तानीमा कमिसन लिने कार्य बन्द गरिनुपर्ने उनको माग छ।
यसैबीच प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँद अनसनरत बटालालाई भेट्न शुक्रबार राति नै करिब ९:२० बजे गाउँपालिका कार्यालय पुगेका थिए। चुनावी आमसभा तथा घरदैलो कार्यक्रममा व्यस्त रहेकै समयमा साउँदले अनसनस्थल पुगेर बटालाको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन।
साउँदले बटालाका माग जनताको अधिकारसँग जोडिएको विषय भएको उल्लेख गर्दै आफू ती माग पूरा गर्न साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । “जनताका जायज माग पूरा हुनुपर्छ, म तपाईंको पक्षमा उभिन्छु,” उनले बताएका थिए।
बटालाले उम्मेदवार साउँद आफूलाई भेट्न आएकोमा धन्यवाद व्यक्त गरेका छन् । साथै उनलेे माग पूरा गर्नमा सहयोग गर्न अपिल गरेका थिए ।
भेटघाट कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य खगेन्द्र रोकाया, प्रदेश कमिटी सदस्य चक्र रावल, जिल्ला कमिटी सदस्य डम्बर रोकाया तथा युवा नेता कम्मान साउँद (जोसिला) लगायतको सहभागिता रहेको थियो।
गाउँपालिकाले भने अहिलेसम्म अनसनबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

