बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जनतामा पनि यसपटकको निर्वाचनप्रति असाधारण चासो देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘पुराना शक्ति बनाम नयाँ विकल्प’ को रूपमा हेरिएको छ । यही राष्ट्रिय माहोलबीच सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बझाङमा पनि चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ ।
भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि पारिएको र राजनीतिक चेतनाका हिसाबले भने सधैं सचेत मानिने बझाङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण देखिएको छ । मतदाताको मनोविज्ञान बुझ्न २०७९ सालको निर्वाचन परिणामलाई फर्केर हेर्नैपर्ने हुन्छ ।
२०७९ सालमा बझाङमा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६२ हजार १ सय २ मत अर्थात ५०.७५ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ५८ हजार ६ सय १३ सदर र ३ हजार ४ सय ८९ बदर भएको थियो । समानुपातिकतर्फ भने ६३ हजार २ सय ४३ मत अर्थात ५१.६८ प्रतिशत मतदान भएको थियो, जसमा ५९ हजार २ सय २० सदर र ४ हजार २३ बदर मत थियो । यी तथ्यांकले बझाङमा आधाभन्दा बढी मतदाता सक्रिय रूपमा चुनावमा सहभागी हुने गरेको देखाउँछ ।
त्यतिबेलाको चुनावी समीकरण झनै रोचक थियो । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन बनाएका थिए भने नेकपा एमालेका ऐन महर एक्लै मैदानमा थिए । तीन ठूला दलको संयुक्त शक्ति एकातिर हुँदा पनि एमाले उम्मेदवार महरले एक्लै कडा प्रतिस्पर्धा दिएका थिए ।
निर्वाचन परिणामले झनै चकित बनायो । गठबन्धनका उम्मेदवार भानुभक्त जोशीले २८ हजार ४ सय १३ मत ल्याएर जित हात पारे भने एमालेका ऐन महरले २७ हजार ४ सय १२ मत ल्याए । हार–जीतको अन्तर मुश्किलले करिब १ हजार मत मात्रै थियो । तीन दलको संयुक्त शक्तिसामु एक्लै उभिएका उम्मेदवारले दिएको यो टक्करलाई धेरैले ‘नैतिक जित’ का रूपमा समेत व्याख्या गरेका थिए ।
झनै महत्वपूर्ण तथ्य के थियो भने समानुपातिक मतमा भने एमाले बझाङको पहिलो शक्ति बनेको थियो । एमालेले २३ हजार ३ सय २७ मत पाएको थियो । कांग्रेसले २० हजार ९३, माओवादीले ८ हजार ५ सय १६ र एकीकृत समाजवादीले मात्र ४ हजार ८ सय ६३ मत पाएका थिए । यसले स्पष्ट के देखायो भने गठबन्धनको कारण प्रत्यक्षतर्फ परिणाम उल्टिए पनि जनमतको आधार एमालेतर्फ नै बलियो थियो ।
यही पृष्ठभूमिमा अहिले २०८२ को चुनावी मैदान सजिएको छ । यसपटक नेकपा एमालेबाट फेरि ऐन महर नै उम्मेदवार बनेका छन् । कांग्रेसबाट प्रकाश रसाइली स्नेही, राप्रपाबाट विश्वप्रकाश जेठारा, नेकपा माओवादी विप्लवबाट भरत मल्ल ‘सी’, नेपाली कम्युनिस्ट पार्टीबाट मिनबहादुर कुवर, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा र रास्वपाबाट शैलेस कुमार सिंह मैदानमा छन् ।
तर समीकरण अब २०७९ जस्तो छैन । त्यतिबेला तीन दल मिलेर लडेका थिए, अहिले दलहरू आआफ्नै प्रतिस्पर्धामा छन् । गठबन्धन टुटेको अवस्थामा विपक्षी मत विभाजित हुने निश्चित देखिन्छ । यस्तो अवस्थामा २०७९ मै बलियो आधार बनाइसकेका एमाले र ऐन महरलाई यसपटक सीधा फाइदा पुग्ने विश्लेषण भइरहेको छ ।
स्थानीय स्तरमा एमाले संगठन अझ मजबुत बनेको छ । कार्यकर्ता परिचालन, गाउँ–गाउँमा उपस्थिति र विगतदेखि कायम मत आधारले पनि महरको पकड मजबुत देखिन्छ । पार्टीभित्र एकता र स्पष्ट रणनीति देखिँदा एमाले कार्यकर्ता उत्साहित छन् । स्वयं एमालेले यसपटक कम्तीमा ८ हजार मतले जित्ने दाबी गरिरहेको छ । उता कांग्रेस भने आन्तरिक गुटबन्दीको असरबाट मुक्त देखिँदैन । सुदूरपश्चिमका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा खुलेर सक्रिय नदेखिनु कांग्रेसका लागि ठूलो झट्का सावित हुन सक्छ । गगन पक्षसँगको विवादपछि देउवाको मौनता रणनीति हो वा असन्तुष्टि भन्ने प्रश्न उठिरहेको छ । तर बझाङजस्तो क्षेत्रमा देउवाको सक्रियता नै कांग्रेसको ऊर्जा मानिने भएकाले उहाँको निष्क्रियताले कांग्रेस मतदाता र कार्यकर्ता दुवैमा अन्योल देखिन्छ ।

