२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ?
बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जनतामा पनि यसपटकको निर्वाचनप्रति असाधारण चासो देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘पुराना शक्ति बनाम नयाँ विकल्प’ को रूपमा हेरिएको छ । यही राष्ट्रिय माहोलबीच सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बझाङमा पनि चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ ।
भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि पारिएको र राजनीतिक चेतनाका हिसाबले भने सधैं सचेत मानिने बझाङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण देखिएको छ । मतदाताको मनोविज्ञान बुझ्न २०७९ सालको निर्वाचन परिणामलाई फर्केर हेर्नैपर्ने हुन्छ ।
२०७९ सालमा बझाङमा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६२ हजार १ सय २ मत अर्थात ५०.७५ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ५...

