कैलाली: कैलालीको कैलारी गाउँपालिकास्थित बसन्ता सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन वन प्रशासनले सक्रियता देखाएको छ। सब डिभिजन वन कार्यालय बसन्ताका वन अधिकृत कपिल रावलको प्रत्यक्ष नेतृत्वमा शनिबार एक विशेष टोलीले बड्का बसन्तामा वन मिचेर बनाइएको संरचना हटाएको हो ।

अधिकृत रावलले कैलारी गाउँपालिका वडा नं. ७ स्थित बसन्ता सामुदायिक वनको जग्गामा एक परिवारले अवैध रूपमा छाप्रो निर्माण गरी वन अतिक्रमण गरेका थिए। सोको सूचना प्राप्त हुनासाथ वन अधिकृत कपिल रावलको नेतृत्वमा खटिएको सब डिभिजन वन कार्यालय र बसन्ता सामुदायिक वनको संयुक्त टोलीले उक्त छाप्रो तत्कालै भत्काएर वन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकृत रावल भन्छन ” वन अतिक्रमणमा कुनै सम्झौता हुँदैन ।” अतिक्रमण हटाउने कार्यको नेतृत्व गर्दै वन अधिकृत कपिल रावलले वन क्षेत्रको संरक्षणमा कसैको दबाब वा प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन । फेरि त्यसैमा थप्दै — “प्राकृतिक स्रोतहरुको रक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो। वन क्षेत्र मिचेर गरिने कुनै पनि गतिविधि कानुन विपरीत छन्, यस्ता कार्यलाई हामी कडाइका साथ निरुत्साहित गर्छौँ।”

अधिकृत रावलको यस कदमलाई स्थानीयहरु र सामुदायिक वन उपभोक्ता समूहले समेत प्रशंसा गरेका छन्। वन क्षेत्र जोगाउनका लागि फिल्डमै खटिएर नेतृत्व लिने रावलको कार्यशैलीले वन अतिक्रमणकारीहरूलाई कडा सन्देश दिएको छ।

उक्त टोलीमा वन कार्यालयका कर्मचारीहरू, वन रक्षक र सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। आगामी दिनमा पनि वन अधिकृत रावलको कमाण्डमा नियमित गस्ती र अतिक्रमण विरोधी अभियानलाई निरन्तरता दिने कार्यालयले जनाएको छ।

