काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी आरजुसहित देउवा सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन्।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई तत्कालै नेपाली सेनाको सैनिक अस्पताल, छाउनीमा पुर्याइएको थियो।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते मात्र पार्टी केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति तोकेका थिए।

