धनगढी— कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार मृत फेला परेका व्यक्तिको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको पाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा ती पुरुषको शव फेला परेको हो।
ढुङ्गाले टाउकोको बायाँ भागमा प्रहार गरी आँखा समेत फुटाइएको अवस्थामा शव भेटिएकाले अनुहार पहिचान गर्न नसकिने प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।
अन्दाजी ३५–४० वर्ष उमेरका देखिने ती पुरुषको परिचय खुलेको छैन। शव नजिकै रगत लागेको ढुङ्गा फेला परेको छ भने लुगाबाहेक अन्य कुनै सामान भेटिएको छैन।
शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा भेटिए पनि हत्या मन्दिरभित्रै भएको प्रहरीको अनुमान छ। शव भेटिएको स्थानभन्दा करिब २० मिटर टाढा मन्दिरको प्राङ्गण रगताम्मे अवस्थामा रहेको र मन्दिरबाट शव तानेर तल फालिएको जस्तो देखिएको थापाले बताए।
प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

