काठमाडौं : भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्टेटमेन्ट लिएको छ ।
गत असोज ५ गते गठित आयोगले असोज ८ गतेबाट काम थालेको थियो । एमाले अध्यक्ष ओलीले पटक-पटक आयोगलाई नमान्ने र बयान नदिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । आयोगले पनि ओली बयान दिन नआए सरकारको सहयोगमा बयानमा बोलाउने दाबी गरिरहेको थियो तर, आइतबार आयोगको टोली सुटुक्क ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित फिल्डमा खटिएका सुरक्षाकर्मी, सेना, सशस्त्र र प्रहरी प्रमुख, तत्कालीन मुख्य सचिवसम्म, गृहसचिव र काठमाडौं जिल्ला प्रशासन प्रमुख छबि रिजालसँग बयान लिइसकेको छ ।

