अछामको तुर्माखाँद गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिएको छ। यसै क्रममा वडा नम्बर ५, नाडामा वडा कार्यालयको नयाँ भवन निर्माणका लागि विधिवत् रूपमा शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आज भवनको शिलान्यास गरेका हुन् । आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्राथमिकताका साथ भवन निर्माणको कार्य अघि बढाएको हो ।
स्थानीय स्तरबाटै सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस भवनको आर्थिक विवरण निम्नानुसार रहेको छ:
कुल लागत अनुमान: रु १,९२,४२,३८२/-
सम्झौता रकम: रु रु १,०७,४७,५२३/-
गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी भन्छन ”हामी चुनावी नारामा मात्र होइन, व्यवहारमै जनताको सेवामा अहोरात्र खटिएका छौँ। नाडामा बन्ने यो भवनले स्थानीय सरकारको आभास दिलाउनेछ र नागरिकलाई छिटो-छरितो सेवा प्रदान गर्न मद्दत पुग्नेछ । ” 
शिलान्यासको क्रममा सम्बोधन गर्दै अध्यक्ष बिसीले गाउँपालिकाका अधिकांश वडामा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिएका छन । केही प्राविधिक कारणले ढिलाइ भएको वडा नम्बर ३ को भवन पनि आगामी एक वर्षभित्र निर्माण गरिसक्ने कुरा पनि उक्त कार्यक्रम मार्फत जानकारी गराएका छन् ।
उनले थप्दै भने “जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो। बाँकी रहेका संरचनाहरू पनि चाँडै सम्पन्न गरी हामी तुर्माखाँदलाई एक नमुना गाउँपालिका बनाउने अभियानमा छौँ।”
नयाँ भवन निर्माण हुने भएपछि नाडाका स्थानीयबासीहरू हर्षित भएका छन्। आधुनिक सुविधासम्पन्न भवन बनेपछि जन्मदर्ता, नागरिकता सिफारिस लगायतका अन्य प्रशासनिक कामका लागि सहज हुने उनीहरूको अपेक्षा छ। निर्माण कार्यलाई तोकिएको समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न स्थानीयहरुले माग समेत गरेका छन्।

