बझाङ- बझाङको क्षेत्र नं–२ मा स्थापना गरिने भनिएको इलाका प्रशासन कार्यालय स्थापनाका लागि स्थान चयनको विषयलाई लिएर विवाद चर्किदै गएको छ। झोता, देउरा र बागथलाका स्थानीयबासीले आफ्नै बस्तीमा कार्यालय हुनुपर्ने भन्दै छुट्टाछुट्टै माग राखिरहेकाले विषय झनै जटिल बन्दै गएको हो।
सरकारले इप्रका स्थापना प्रक्रियालाई अघि बढाएपछि झोता र देउराबासीले कार्यालय आफ्नै क्षेत्रमा स्थापना गर्नुपर्ने माग गर्दै विभिन्न संघर्ष कार्यक्रम समेत सञ्चालन गरेका थिए। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाइसकेका छन्। तर अहिलेसम्म कार्यालय कहाँ स्थापना गर्ने भन्नेमा कुनै टुंगो लाग्न सकेको छैन।
यसैबीच, मंसिर १२ गतेदेखि बागथलाबासीले कार्यालय बागथलामै स्थापना गर्नुपर्ने मागसहित एक घण्टासम्म सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। एउटै कार्यालयका लागि तीन ठाउँबाट माग उठेपछि विवाद थप चर्किएको छ।
यही विषयमा आज आइतबार देउराबासीले गाउँपालिकालाई औपचारिक रूपमा धारणा स्पष्ट गर्न माग गरेका छन्। उनीहरूले पालिका नेतृत्वमाथि “मौन दर्शक” बनेको आरोप लगाउँदै कार्यालयको बैठक बसेर समाधान खोज्न ध्यानाकर्षण पत्र बुझाएका हुन्।
स्थान निर्धारणको विवाद चर्कँदै गएकाले समाधान निकाल्ने जिम्मेवारी पालिकाकै हो भनेर देउराबासीले बताएका छन्। कार्यवाहक गाउँपालिका अध्यक्ष बिरबहादुर भण्डारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा, ५ दिनभित्र माग सम्बोधन नभए संघर्षका कार्यक्रम सुरु गर्ने चेतावनीसमेत दिइएको छ। साथै, माग पूरा नभए पालिकामा तालाबन्दी गर्ने उल्लेख छ।



