बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ ।
विद्यालय र खोलापारी कृषक समूहको संयुक्त लगानीमा प्लास्टिक टनेल निर्माण गरिएको हो ।
विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सिकाइ प्रदान गर्न करिब ५० हजार रुपैयाँ बराबरको लागतमा टनेलले निर्माण गरिएको विद्यालय प्रधानाध्यापक गोकुल बोहराले कामना टुडेलाई जानकारी दिए । उनलेे भने टनेलमार्फत विद्यालय परिसरमै तरकारी खेती सुरु गरिनेछ, जसले विद्यार्थीलाई तरकारी उत्पादन सम्बन्धी ज्ञान, सीप तथा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने छ ।
विद्यालयमा उत्पादन हुने तरकारी दिवा खाजाका लागि समेत उपयोग गरिने भएकाले यस कार्यक्रमले विद्यार्थीको पोषणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
टनेलले विद्यालयमा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै कृषिसँग जोडिएको सिकाइलाई प्रभावकारी बनाउने छ ।

