काठमाडौं- टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले ओमानविरुद्धको पहिलो वार्मअप म्याचमा ६ विकेटको शानदार जित हासिल गरेको छ।
शनिबार सम्पन्न खेलमा ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेटको क्षतिमा पूरा गर्यो। नेपालका ओपनर आसिफ शेखले ६१ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै जितमा महत्वपूर्ण भूमिका खेले। कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ र कुशल मल्लले १० रन जोडे।
यसअघि, टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो। नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट हात पारे।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा पुग्ने टिम सुपर सिक्समा प्रवेश गर्नेछ भने सुपर सिक्सको शीर्ष तीन टिमले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

