बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकाले पनि जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नेभएको छ । भदौ २३ र २४ गतेको देशव्यापी रुपमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका बझाङका दुई जनाको परिवारलाई पालिकाले एक–एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
जेन-जी पुस्ताले राजनीतिक दलहरूको असफलता, नेतृत्वप्रति अविश्वास, भ्रष्टाचारका बिरुद्ध गरेको आन्दोलनमा ज्यान गुमाएका खप्तडछान्ना गाउँपालिकाका सुवास बोहरा र दुर्गाथलि गाउँपालिकाका भीम धामीको ज्यान गएको थियोे ।
पालिकाले देशव्यापी जेन-जी आन्दोलन नेपालको राजनितिक इतिहासमा एक युगान्तकारी परिवर्तनकारी विद्रोहका रूपमा स्थापित भएको बताउँदै पालिकाले मृतक बोहरा र धामीको परिवारलाई राहत स्वरुप उक्त रकम दिने निर्णय गरेको अध्यक्ष उत्तम बहादुर रोकायाले बताए ।

पालिकाले ऐतिहासिक आन्दोलनका क्रममा वीरगती प्राप्त गर्नु भएका सहिद प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, आन्दोलनका क्रममा घाईते भएका सबैमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसअघि दुर्गाथलि गाउँपालिकाले मृतक धामी र बोहराको परिवारलाई एक-एक लाख रुपैया राहत दिने घोषणा गरिसकेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने र उनका परिवारलाई १० लाख राहत दिने निर्णय गर्नुभएको छ।

