काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
अहिले सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

