बझाङ- राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छविसपाथिभेरा गाउँपालिका–२ स्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ ७ र ८ गते विद्यालय परिसरमै छविसपाथिभेरा गाउँपालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ।
राजा जयपृथ्वीका मानवतावादी सोच र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शारीरिक, बौद्धिक र सांस्कृतिक क्षमताको अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धात्मक वातावरणमा सहभागी बनाउँदै समावेशिता, अनुशासन र प्रतिभा विकासमा जोड दिएको यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो सीप र सोच प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ।
प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्न सहभागीहरूको उमेर, कागजात र अनुभवका आधारमा स्पष्ट शर्तहरू तय गरिएको छ, जसले विद्यालयस्तरको प्रतिस्पर्धालाई मर्यादित बनाउने अपेक्षा गरिएको छ।
विद्यालयले शिक्षक, अभिभावक तथा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रमलाई सफल पार्न आह्वान गरेको छ, जुन सामुदायिक सहभागिता र सहकार्यको उत्कृष्ट उदाहरण बन्न सक्छ।
छात्र भलिबल प्रतियोगितामा प्रथमलाई २० हजार द्वितीयलाई ११ हजार, तृतीयलाई ७ हजार पुरस्कार प्रदान गरिनेछ ।यस्तै छात्रा भलिबल प्रतियोगितामा प्रथमलाई १५ हजार , द्वितीयलाई ९ हजार र तृतीयलाई ७ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यसैगरी ६ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि आयोजना गरिएको हाजिरजवाफ प्रतियोगितामा प्रथमले ८० प्रतिशत पाठ्यपुस्तक र द्वितीयले २० प्रतिशत सामान्य ज्ञान प्रदान गरिनेछ ।
त्यस्तै १ देखी ५ सम्म अध्यनरत बालबालिकाका लागि नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको छ।
प्रतियोगितामा छबिसपाथिभेरा गाउँपालिका भित्रका विद्यालयमा अध्यनरत बालबालिका सहभागी हुन पाउनेछन् ।


