काठमाडौँ- हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

