काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को म्याद १० वर्षसम्म कायम गर्ने व्यवस्था गरेको छ। केही नेपाल ऐनहरू संशोधन गर्दै अबदेखि लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म मान्य हुने प्रावधान लागू गरिएको हो।
यसअघि चालक अनुमतिपत्रको म्याद पाँच वर्ष मात्र थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर उक्त नयाँ व्यवस्था ल्याइएको हो।
त्यसैगरी, सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) सम्बन्धी म्यादसमेत परिमार्जन गरिएको छ। संशोधित नियमअनुसार नयाँ दर्ता भएका सवारीहरूको हकमा जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ भने अन्य सवारीका लागि उक्त म्याद छ महिनासम्म सीमित हुनेछ।
नयाँ प्रावधानले प्रदूषण परीक्षण र जाँचपास कार्यका लागि निजी क्षेत्रलाई समेत संलग्न हुने अनुमति दिएको छ, जसबाट सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।

