काठमाडौँ- नेपाली समाजमा आजको दिन खीर खाएर साउन १५ मनाइँदैछ। साउने झरीमा तातो खीर स्वास्थ्यका लागि फाइदाजनक मानिने भएकाले यो परम्परा बस्दै आएको विश्वास गरिन्छ।
दूधमा मरमसला, चामल र चिनी हालेर पकाइने खीरले शरीरलाई शक्ति दिने भएकाले यसलाई सात्त्विक आहारको रूपमा लिइन्छ। संस्कृत भाषामा “पायस” भनिने खीर पितृ तथा देवकार्यमा पनि महत्वपूर्ण मानिन्छ। धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पायसलाई वैदिक ग्रन्थमा श्रेष्ठ सात्त्विक परिकारको रूपमा वर्णन गरिएको छ।
साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिने र हरियाली फैलिने भएकाले गाईभैँसीले बढी दूध दिने समय पनि यही हो। दूध प्रशस्त हुने भएकाले इष्टमित्र, छोरीचेलीलाई बोलाएर खीर खुवाउने परम्परा चलनमा आएको हो।
साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधजन्य परिकार प्रिय हुने धार्मिक विश्वास छ। त्यसैले खीरलाई विधिपूर्वक शिवलाई चढाएर खाने चलन पनि रहिआएको धर्मशास्त्रविद् भट्टराई बताउँछन्। यद्यपि साउन १५ मा खीर खाने शास्त्रीय आधार भने नरहेको उनी स्पष्ट पार्छन्।
ऋषिमुनिको पालादेखि श्राद्धलगायत पितृ कार्यमा आमन्त्रण गरिएका ब्राह्मणलाई पायस खुवाउने परम्परा छ। आज पनि वैदिक सनातन धर्मावलम्बीले गाईको दूधबाट बनाइएको खीर देवतामा चढाएर खाने चलन कायम छ।
नेपाली बृहत् शब्दकोशअनुसार, खीर भनेको “दूधमा पकाइएको भात, चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिलो खाद्य पदार्थ” हो।
नेपाली समाजमा हरेक महिना १५ गतेका दिन विशेष परिकार बनाएर सामाजिक–सांस्कृतिक सम्बन्ध मजबुत पार्ने परम्परा छ। असार १५ मा दहीच्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा जस्ता परिकार बनाई इष्टमित्रसँग साटासाट गरिन्छ।
नेपालको खाद्य नियमावलीअनुसार, प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन पाइन्छ। प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० क्यालोरी ऊर्जा प्राप्त हुने उल्लेख गरिएको छ।

