काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
यसको प्रभावले बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली, तराई भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान, साथै मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान, लुम्बिनीका तराई र अन्य प्रदेशका केही भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहनेछ। मधेस र सुदूरपश्चिमसहित अन्य पहाडी तथा केही तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
मौसम महाशाखाले बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

