अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेका छन्। यद्यपि अमेरिकी गुप्तचर निकायको प्रारम्भिक अनुसन्धानले आक्रमणले केही भौतिक क्षति पुर्याए पनि पूर्णरूपमा नष्ट गर्न नसकेको देखाएको छ।
पेन्टागनको रक्षा गुप्तचर एजेन्सी (डिआइए) बाट आएको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमहरूमा चुहावट भएको थियो। सो सूचनाको चुहावटप्रति ट्रम्प आक्रोशित बनेका छन्। ट्रम्प प्रशासनले भने इरानको आणविक कार्यक्रम अझै कायम रहेको भन्ने रिपोर्टलाई अस्वीकार गरिरहेको छ।
मध्यपूर्वका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले सूचनाको चुहावटलाई ‘देशद्रोह’को संज्ञा दिएका छन्।
त्यहीबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान आक्रमणबाट पछि हट्नु इजरायलका लागि ऐतिहासिक विजय भएको प्रतिक्रिया दिएका छन्।
इरानका राष्ट्रपति मासाउद पेजेस्खिनले भने नागरिकको दृढताको कारण १२ दिने युद्धको अन्त्य सम्भव भएको बताएका छन्। युद्धविरामसँगै इरानमा जनजीवन सामान्य बन्दै गएको छ र राजधानी तेहरान छाडेका नागरिक पुनः फर्किन थालेका छन्। देशभर उत्सवको माहोल देखिएको छ।

