काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भागमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिमसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
रातिको समय पनि केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना कायमै छ।

