“एउटा मान्छे हराएको जमाना भइसक्यो,
खै खबर, चिठी नआएको जमाना भइसक्यो…”
– यो हृदयविदारक वाक्य हो कालिकोटका कुशल नाथ योगीको
२०५८ सालको चैत २४ गते । भारतबाट काम गरेर आफ्ना साथिहरु संग घर फर्किनेबेलामा कञ्चनपुरको महेन्द्रनगरबाट तत्कालीन शाही सेनाले विष्णुनाथ योगीलाई माओवादी भएको आरोपमा पक्राउ गर्यो । त्यसपछि उनी कहिल्यै फर्किएनन्। कुनै खबर आएन, कुनै शव फेला परेन । काखमा बच्चा खेलाइरहेका, गर्भवती श्रीमतीलाई बिदाइ नगरी, उनी हराए ।
कालिकोटको सिप्खाना–७ निवासी विष्णुनाथ एक साधारण किसान थिए । घरको जिम्मेवारी बोक्ने, खेतीपाती गरेर गुजारा चलाउने, भारतका सुदूर शहरहरूमा पुगेर परिवारका लागि लत्ताकपडा ल्याउने एक मेहनती मानिस । सामाजिक र राजनीतिक चेत भएका उनी कहिलेकाहीँ माओवादीका र्यालीमा सामेल पनि हुन्थे । कहिल्यै सम्पर्कविहीन हुने, भूमिगत हुने प्रवृत्ति भने थिएन । तर, त्यसैको मूल्य उनलाई जीवनभर चुकाउनुपर्यो सायद ।
उनको हराइको पृष्ठभूमि कहालीलाग्दो छ । उनी कामबाट घर फर्कँदै गर्दा बस रोकियो, परिचय सोधियो । शाही सेनालाई संका लाग्यो—”विष्णुनाथ” को नामले “विश्वनाथ” माओवादी कमाण्डरसँग मेल खायो । यही शंका उनको जीवनको अन्तिम मोड बन्यो । उनीलाई त्यहीँबाट वेपत्ता पारियो ।
हराएपछि परिवारका लागि जीवन रोकिएजस्तो लाग्यो । तर जीवन कहाँ रोकिन्छ र? सास लिनु पर्यो, छोराछोरी हुर्काउनु पर्यो । श्रीमतीले दोस्रो बिहे गर्न सकिनन्—उनी श्रीमान् को अनुहार छोरामा हेरेर बाँची रहिन् । मेलापात, हाटदाउरा, ज्यालामजदुरी । उनले जीवनसंग बाँच्नको लागि हरेक रूपले जुधिरहिन् । एउटा महिलाले एक्लै बाँझो खेत जोत्न सक्ने, मर्दले नउठाउन सक्ने भारी बोक्ने हिम्मत राखिन् । त्यो हिम्मत नै उनको जीवनको बलियो काँध बन्यो ।
कुशल नाथ योगी सानै थिए जब बाबु बेपत्ता भए । बहिनी आमाको काखमै थिइन् । अर्को बहिनी बाबु हराएको महिना जन्मिइन् । उनीहरूको जीवन यस्तै कठिनाइका आँधीमा हुर्कियो । जंगल, लेक, गाउँ—घाँसको भारीसँगै जीवनका पिडा बोकेर चुलोचौको चलाइयो ।
“बा! बेपत्ता भएको आज ठ्याक्कै २३ वर्ष भएछ। समय जसोतसो कट्ने रहेछ, जिन्दगी जसोतसो चल्ने रहेछ।” — कुशलको यो वाक्य भित्र एक पुस्ताको मौन पीडा बोल्छ ।
राजनीतिक परिवर्तन आए। राजतन्त्र ढल्यो, गणतन्त्र आयो । नेताहरू सत्तामा पुगे । तर बेपत्ता भएकाहरूको आवाज अझै ओझेलमा छ। न त न्याय पाइयो, न राहत । देशमा आन्दोलन भए, सरकार फेरिए, तर न आमाको पीडा मेटियो, न छोराछोरीको बाटो हेर्ने आँखा थाके ।
कुशल लेख्छन्, “हामीले बन्दुक उठाएनौँ तर माओवादीलाई खाना खुवायौँ । हामीले शाही सेनासँग लडेनौँ, तर डरायौँ । हामीले केही मागेका थियौँ—शान्ति र न्याय। आज पनि हामीले त्यो माग दोहोर्याइरहेका छौँ।”
जनयुद्धको भित्रि कथा
त्यो समय देशमा माओवादी द्वन्द्व चर्केको थियो । परिवर्तनको सपना देखाउनेहरू गाउँगाउँ पुगेका थिए । माओवादीले गाउँका युवालाई संगठित गर्न थालेका थिए, कोही स्वेच्छाले होमिएका थिए, कोही डर र दबाबमा । गाउँ–गाउँमा शाही सेनाको खोजी, माओवादीको गस्ती—मानवताको बीच द्वन्द्वको त्रास थियो । परिवार, समाज, सबै चकमन्न थिए । दश वर्ष लामो माओवादी विद्रोह (२०५२–२०६२) नेपालका लागि इतिहासकै सबैभन्दा हिंस्रक र राजनीतिक रूपमा निर्णायक समय थियो। हजारौं मानिस मारिए, लाखौं विस्थापित भए, र १६०० भन्दा बढी नागरिक आज पनि बेपत्ता सूचीमा छन् ।
शान्ति सम्झौतापछि बेपत्ता व्यक्तिको छानबिन गर्न ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन भए । तर वर्षौं बित्दा पनि, बेपत्ताको परिवारले सत्य पाउन सकेका छैनन् ।
अहिले गणतन्त्र स्थापनाको १७ वर्ष पुग्न लागेको छ । तर यस्ता हजारौं पीडित परिवार अझै न्यायको प्रतीक्षामा छन् । सरकारले कहिलेकाहीँ राहत दिने वाचा गर्छ, तर त्यो वाचा कागजमै सीमित रहन्छ । पीडितको आवाज राज्यका कानसम्म पुग्दैन ।

माओवादी युद्ध एउटा परिवर्तनका लागि उठाइएको आन्दोलन थियो । सामाजिक अन्याय, वर्गीय विभेद, उत्पीडनविरुद्धको यो संघर्षमा हजारौं युवाले आफ्नो ज्यानको बाजी लगाए । तर अहिले त्यही आन्दोलनका नेता सत्तामा छन् । परिवर्तनका आशा बोकेर उठाइएको बन्दुकले ल्याएको परिवर्तन आज पनि जनताको पीडालाई सम्बोधन गर्न चुकेको छ ।
बेपत्ताका परिवारहरू भन्छन्, “हामीलाई अब केही चमत्कारको आशा छैन, तर कम्तीमा राज्यले हाम्रो पीडालाई राज्यको पीडा मानेर सम्बोधन गरोस्।”
२३ वर्षपछि पनि यो पीडा आवाज विहीन छ । यो आवाज उठाउनु राज्यको दायित्व हो । बेपत्ता हजारौँ नागरिकको नियतिलाई सम्झने हो भने इतिहास फेरि दोहोरिन्छ ।
कुशल नाथ योगीको यो पीडा केवल एउटा परिवारको कथा होइन, यो नेपाली जनताको साझा घाउ हो ।

