बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरोगी रहने अनुमान गरिएको छ। तर, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य संस्थामा उपचारका लागि दर्ता हुने क्षयरोगीको संख्या अपेक्षाकृत कम रहेको पाइएको छ।
यस अवधिमा जम्मा १ सय ८७ जना मात्र उपचारको दायरामा आएका छन् । जुन कुल अनुमानित सङ्ख्याको ४७ प्रतिशत मात्र हो। यस्तै, चालु आर्थिक वर्षमा पनि स्वास्थ्य संस्थामा क्षयरोगी दर्ता हुने दर ओरालो लागेको देखिन्छ।
सोमबार विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ८४ जना क्षयरोगी मात्र पत्ता लागेका छन्। यसले जिल्लामा क्षयरोग पहिचान तथा उपचार सेवामा चुनौती रहेको स्पष्ट पार्छ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीका अनुसार, हाल क्षयरोग अन्त्य रणनीति अनुसार देशभर क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालन भइरहेको छ। बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिका मा क्षयरोग मुक्त पालिका अभियान लागू गरिएको भए पनि उल्लेखनीय संख्यामा क्षयरोगी पत्ता लगाउन सकिएको छैन।
जोशीका अनुसार, क्षयरोग नियन्त्रणका लागि सक्रिय क्षयरोग खोजपड्ताल, सम्पर्क परीक्षण, र समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक छ। साथै, संक्रमित व्यक्तिहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउने प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन्छ।
बझाङ जिल्लामा क्षयरोगको निदानका लागि ८ वटा नियमित माइक्रोस्कोपी केन्द्रहरू तथा एउटा एमडब्लुआरडी साइट सञ्चालनमा छन्। साथै, उपचारका लागि ५७ वटा उपचार केन्द्रहरू मार्फत निःशुल्क क्षयरोगसम्बन्धी सेवा प्रदान गरिँदै आएको छ।
समयमै पहिचान र सम्पूर्ण उपचार नगरेमा क्षयरोग सजिलै फैलिन सक्छ, त्यसैले सचेत रहनु जरुरी छ।