बझाङ सदरमुकाम चैनपुरमा औषधि पसल, क्लिनिक र अस्पतालहरूको संयुक्त अनुगमन गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय बझाङ, र जिल्ला स्वास्थ्य कार्यालय बझाङको टोलीले चैनपुरमा सञ्चालित विभिन्न मेडिकल, क्लिनिक र निजी अस्पतालहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा इजाजतबिना तथा मापदण्डविपरीत अस्पताल, क्लिनिक र फार्मेसी सञ्चालन गरिएको, जनशक्ति नभई नागरिकलाई ठगेको, फार्मेसीमा जनशक्ति बिना औषधि बिक्री गरेको, र चिकित्सकको स्थानमा अन्य व्यक्तिहरूले भिडियो एक्स-रे गर्दै नागरिकको स्वास्थ्यमा खेलबाड गरेको गुनासोका आधारमा यो कदम चालिएको हो।
अनुगमन टोलीले इजाजत र दर्ता अनुमति पत्रबिना अवैध रूपमा सञ्चालन भइरहेको अमिसा अस्पताल प्रा.लि. मा ताला लगाएको छ। अस्पतालले नगरपालिकामा समेत दर्ता नगरी ३ जना स्टाफको भरमा सञ्चालन भइरहेको पाइएको थियो।
यस्तै, चैन मेडिकल नामले चिनिने एक फार्मेसीले लागुऔषध प्रयोजनका लागि औषधि बिक्री गरेको आरोप लागेको छ। औषधि व्यवस्था विभागको टोलीले यस विषयमा छानबिन र सोधपुछ जारी राखेको जनाएको छ।
अनुगमन टोलीका अनुसार केही अन्य मेडिकल सञ्चालकहरू अनुगमनको खबर थाहा पाएपछि पसल बन्द गरेर भागेका छन्। यसबारे औषधि व्यवस्था विभाग नेपालगन्जकी प्रमुख निनु श्रेष्ठले भनेकी छिन्, “स्वास्थ्य सेवा नागरिकको मौलिक हक हो। यसलाई दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन निरन्तर अनुगमन गरिनेछ। हामीले अनियमितता पत्ता लगाएका संस्थाहरूमाथि कडा कारबाही गर्छौं।”
स्थानीयबासीका अनुसार यसअघि पनि अनुगमनका क्रममा यस्तै घटनाहरू दोहोरिने गरेका छन्। अनुगमनको जानकारी पहिल्यै हुने हुँदा कतिपय मेडिकल सञ्चालकले पसल बन्द गरेर भाग्ने र पछि पुनः सञ्चालन गर्ने गरेको गुनासो आएको छ।
यो अनुगमनले चैनपुरका स्वास्थ्य सेवा क्षेत्रलाई सुधार गर्न थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको देखिएको छ।

