काठमाडौँ —अनुमति नलिई नेपाल आएको थाई एयर एशियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाई एयर एशियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो । ‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भनेका काठमाडौं आएका हौं भनेर कमाण्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौं,’ महाप्रबन्धक निरौलाले भने ।
उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकाशमाथि होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो । उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि काठमाडौं विमानस्थलमा अवतरण अनुमति दिइएको थियो । त्यो जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए भने काठमाडौंबाट फर्किने १ सय ६० जना थिए ।
युर्निभर्सलका संचालक परासर प्रसाईं हुन् । यिनले उच्च राजनीतिक भनसुन र दबाबका आधारमा थाई एयर एशियाको काठमाडौं उडान भैरहवा गर्ने सर्तमा असोज १६ गतेदेखि (अक्टोबर २) बाट अनुमति लिएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बतायो । कोभिडअघि २७ करोड बक्यौता नतिरेर भागेको यसैको मूल संस्था एयर एशियाको बक्यौता तिर्ने बैंक ग्यारेन्टी प्रसाईंले प्राधिकरणलाई बुझाएपछि यो वायुसेवालाई प्राधिकरणले भैरहवामा उडान गर्ने सर्तमा काठमाडौंमा उडान अनुमति दिएको थियो । यसले एक महिनाभित्र भैरहवाको अध्ययन गरेर उड्ने सर्त पेस गरेको थियो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबारदेखि सुरु भएको विन्टर सेड्युअलका लागि यसले अनुमति पाएको थिएन । अर्थात् यसलाई अक्टोबर २ देखि २७ सम्म २५ दिनको मात्रै काठमाडौंको उडान अनुमति दिइएको थियो ।
नेपालले उडानमा हरेक अक्टोबर महिनाको अन्तिम आइतबारदेखि अर्को नयाँ अंग्रेजी वर्षको मार्च महिनाको अन्तिम आइतबारसम्म शीतकालीन (विन्टर सेड्यूअल लागू गर्छ । मार्चको अन्तिम आइतबारदेखि त्यसै अंग्रेजी वर्षको अक्टोबरको अन्तिम आइतबारसम्म समर (गर्मी) उडान तालिका लागू गर्छ ।)
उडानका विषयमा जानकारी माग्न खोज्दा युनिभर्सलका संचालक प्रसाईं सर्म्पकमा आएनन् । उनले एसएमसको जवाफ पनि दिएनन् ।

