सोलुखुम्बु —एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ सय पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेका पर्यटक हवाईमार्गमार्फत लुक्ला आइपुगेका हुन् ।
सोमबार मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ कम्पनीका ४७ जहाजले उडान गरेका छन् । विभिन्न कम्पनीका हेलिकोप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।
सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडान गरिएको पन्थीले जनाए । ‘एक सातापछि बिहानै मौसम खुलेपछि दिउँसो साढे २ बजेसम्म लगातार उडान भयो,’ उनले भने, ‘धेरैपछि लुक्लामा उडानको चाप बढेको छ, अब विमानस्थल नियमित लयमा फर्किएको छ ।’
तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको उनको भनाइ छ । जहाजमार्फत ५ सय ७५ विदेशी र हेलिकोप्टरबाट ५ सय ८० गरी ११ सय ५५ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए । मन्थलीमा अड्किएर बसेका सबै पर्यटकको उद्धार भइसकेको छ ।
यसअघि पर्यटकको उद्धारका लागि कहिले नेपाली सेनाको जहाज र कहिले हेलिकोप्टर प्रयोग गर्ने रक्षामन्त्रीले बताए पनि कुनै पनि उद्धार उडान भएन । खराब मौसमकै कारण लुक्लामा अड्किएका साढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् । शरद् ऋतुको पर्यटकीय सिजनमा मौसम प्रतिकूल भएकै कारण पर्यटक सगरमाथा क्षेत्र जान सकेका थिएनन् ।
सोमबारबाट भने मौसममा सुधार आएर पर्यटक ओइरिँदा पर्यटन उद्योगमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी तथा टिप एन्ड टप ट्रेकिङका निर्देशक निमा शेर्पाको भनाइ छ ।