
बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका-४ देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् ।
पुस्ताैंदेखि खोलाको पानी खानुपर्ने बाध्यता थियो । तर अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो बाध्यता हटेको छ, ७० वर्षिया स्थानीय काल्चे साउँदले बताए ।
उनले भने, “यहाँका स्थानीय महिलाहरुले पुस्तौंदेखि एक घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि अहिले यहाँका महिला त्यो समस्याबाट मुक्त भएका छन् ।”
पानी नहुँदा घर नजिकैको जमिन पनि बाँझो थियो । अहिले घरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको साउँदले बताए ।
यतिबेला त्रिवेणी –४ देवस्थली टोलका झण्डै ३२ घरपरिवार समेत घरघरमा खानेपानीको धारा निर्माण भएपछि हर्षित भएका छन् ।
त्रिवेणी नगरपालिकाले विगत एक वर्षदेखि एक घर एक धारा हाम्रो अभियान सुरक्षित खानेपानी मुक्त समुदाय हाम्रो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


