
धनगढी – सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् ।
यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन् ।
सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

