
धनगढी – रामको जन्मभूमिमा निर्माण भइरहेको नयाँ मन्दिरको भूतलको गर्भगृहमा भगवान् रामको बाल स्वरूपको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा आयोजना गरिने भएको छ ।
धनगढीमा माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीको आयोजनामा उक्त शोभायात्रा गरिने भएको हो ।
भारतको अयोध्यामा भइरहेकोे उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर र मानवसेवा आश्रम लगायतका ठाँउबाट ठुलो पर्दामा देखाइने विश्व हिन्दु परिषद् नेपाल धनगढी नगरसमितीका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् ।
त्यस्तै सोमबार, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट भजन कृतनसहित संगीतमय शोभायात्रा निकालिने उनले बताए । उक्त शोभायात्रामा विभिन्न संघ-संस्था, मठ-मन्दिरहरु, हिन्दु धर्मावलम्बीहरु र विभिन्न ठाँउमा उपस्थितिको लागि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।
सोमबार, माघ ८ गते अपराह्न ३ बजे धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने उक्त दिन साझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने र सबैले आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर यस पुण्यको काममा सहभागी भइदिन अध्यक्ष पन्तले आग्रह गरेका छन् ।
उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनमा आफ्नो मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन-आरती पूजा गर्न, सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप गर्न, सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्न प्राणप्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दीपोत्सव गर्नका लागि श्री राम जन्मभूमिको तीर्थ क्षेत्रबाट निवेदन गरिएको आयोजकले जनाएको छ ।