
बाजुरा, – सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन ।
कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताए ।
उपाध्यायले गाउँमै सात सयभन्दा बढी रोपनीमा सुन्तला खेती गरेका छन । अहिले बिक्री गर्न समस्या भएको उपाध्यायको गुनासो छ ।
गाउँमा कोल्डस्टोरको व्यवस्था छैन । यसरी किसानले उत्पादन गरेका वस्तु केही महिनासम्म राख्न सहज हुने गरेर कतैबाट कोल्डस्टोरको व्यवस्था भइदिए सहज हुने अपेक्षा उनले गरेका छन् ।
बाजुरा जिल्लाको गौमूल गाउँपालिका, बडिमालिका र त्रिवेणी नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यहाँ उत्पादित सुन्तलाले समयमै बजार नपाउँदा समस्या भएको गौमूलका सुन्तला किसान पारू रोकायाले बताइन् ।