
डडेल्धुरा – मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको छ ।
रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले बताए ।
रेडियोलोष्टि यहाँबाट सरुवा भई गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएका थिए । उनले १६ महिना काम गरे । उनले भने, ‘‘छात्रवृत्तिमा अध्ययन गरेकाले कम्तिमा एक वर्ष दुर्गममा काम गर्नुपर्ने प्रावधान छ ।’’ उनले करिब डेढ वर्ष काम गर्नुभयो र यहाँबाट सरुवा माग्नुभयो ।
ऊनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य बाहिरि जिल्ला जान बाध्य भएका छन् ।
गत वर्ष सीटी स्क्यान सेवा सञ्चालनमा हुँदा ८०० बिरामीलाई सीटी स्क्यान सेवा दिएको गुप्ताले बताए ।
सीटी स्क्यानसँगै विगतमा सुरुवात गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएको उनले बताए । मिसन अस्पताल र जिल्ला अस्पताल गाभिएर २०७० सालमा उपक्षेत्रिय अस्पताल हुँदै सङ्घीय अस्पतालका रुपमा घोषणा गरिए पनि अस्पतालमा जहिल्यै जनशक्तिको अभाव रहने गरेको छ ।
तत्कालीन अवस्थामा एक सय शय्याको अस्पताल बनाई १०९ जना चिकित्सक, स्वाथ्यकर्मी र प्रशासनिक कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो ।
१४ वटा विभाग बनाई २१ जना कन्सल्टेन्ट डाक्टरको दरबन्दि रहने गरी उपक्षेत्रीय अस्पताल सञ्चालन गरिएको थियो । तर दुर्भाग्य अस्पतालले अहिलेसम्म उपक्षेत्रीय अस्पतालको दरबन्दी पाउन सकेको छैन । विषय विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बिरामीलाई सेवा दिन नसकिएको निमित्त मेसु डा. गुप्ताले बताए ।
अस्पतालमा हाल स्थायी र अस्थायी करारका गरी दुई सय कर्मचारीहरु रहेको उनले बताए । छात्रवृत्ति करारका ६ जना कन्सल्टेन्ट डक्टरसहित एक आफु रहेको उनले बताए । ६० जना नर्स छन् । उनले भने, ‘‘अहिले पाँच बेडको इमरजेन्सी सेवा दिँदै आएका छौं । ओपिडीमा जनरल र विशेषज्ञ सेवा दिँदै आएका छौं । पेडाटिक मेडिसिन, सर्जरी, अर्थाेपेडिक सेवा ओपिडीमा दिइरहेको उनले बताए ।
पाँच बेडको आइसियु पनि सञ्चालनमा रहेको उनले बताए । निदानात्मक सेवामा कल्चरदेखि रुटिन लाईब्रेटी सेवा दिइरहेको उनले जनाएका छन् । हाल सुचारु रहेका सेवाहरु बाट वार्षिक ४० हजार बिरामीको उपचार हुने गरेको उनले बताए । -गोरखापत्रबाट