काठमाण्डौं– काठमाण्डौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।
२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
२०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३