
धनगढी – दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ ।
अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी-तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काभेटरमा सहयोगीका रुपमा काम गर्दै आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् ।
सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जनाए । धामी सडकबाट पाँच सय मिटर तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।