
कैलाली – जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित क्षेत्रमा २८ हजार अस्थायी आवास (टहरा) निर्माण भएका छन् ।
भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा गरी पाँच जिल्लामा ८० हजार घर भत्किँदा १५३ जनाको मृत्यु भएको थियो ।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले भूकम्पले पूर्ण रूपमा क्षति पुगेका २८ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माण सम्पन्न हुने अवस्थामा रहेको बताए । बस्न नमिल्ने अवस्थाका थप ५२ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन गृह मन्त्रालयले प्रविधिकसहित सुरक्षाकर्मी परिचालन गरेको पनि भट्टराईले बताए ।
अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले दुई अर्ब २६ करोड रुपियाँ उपलब्ध गराइसकेको जानकारी दिए । उनले भूकम्पबाट क्षति पुगेका ८० हजार घरका बासिन्दालाई अस्थायी आवास निर्माणका लागि चार अर्ब रुपियाँ आवश्यक पर्ने र प्रधानमन्त्री राहत कोषबाट रकम उपलब्ध गराउने तयारी भइरहेको जनाए ।