पिथौरागढ (भारत) – बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन् । ऊनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन् ।
पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन् ।
“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिकै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने । उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे ।
पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनले जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भने ।
नेपालमै पसिना बगाउने आफ्नो रहर भएपनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गरे । “गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भने । भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”,उनले भने, “यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।”
बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन् । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरूले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भने, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।”
पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरू पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् । रासस
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३