
धनगढी – बझाङको बित्थडचिरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा शुक्रबार सुनकुडा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा विद्यालयको प्राङ्गणमा र्याली निकालिएको हो ।

उक्त र्यालीमा हजारौं विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । र्यालीमा विभिन्न किसिमका नारा प्लेकार्ड, ब्यानरसहित बजार परिक्रमा गरेर विद्यालयमा अनौपचारिक कार्यक्रम गरिएको हो ।
कार्यक्रम बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष, हरिश्चन्द्र जोशीको अध्यक्षता र जिल्ला अदालतका न्यायाधीश, नन्दकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला अदालतका श्रेशदार, सुनकुडा माध्यामिक विद्यालयका प्रधानाध्यापक रहेका थिए भने प्रहरी वेश देउलेखका प्रहरी प्रमुखलगायत अतिथि रहेका थिए ।

पालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता अवस्थिले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा लैङ्गिक हिंसासम्बन्धी गीत, नृत्य र नाटकलगायतका कार्यक्रम गरिएका थिए । साथै जनचेतनामूलक तथा नियम कानूनसम्बन्धी जानकारी गराईएको थियो ।
कार्यक्रम आजसम्मकै भव्य र जनचेतनामूलक रहेकाे प्रहरी वेश देउलेखका प्रमुख धनसिंह ठकुन्नाले बताए ।
कार्यक्रमबाट लैङ्गिक हिंसा केही हदसम्म कम हुने विश्वास पनि लिइएको छ भने लैङ्गिक हिंसा रोकथामका लागि विभिन्न एनजीओ आईएनजीओ नेपाल सरकार स्थानीय सरकारको ठुलो लगानी रहेको छ । तर उदेश्य अनुसार रिजल्ट दिन नसकिएको प्रवक्ता जोशीले बताए ।
पूर्ण रूपमा लैङ्गिक हिंसा अन्त्य गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनी वडा अध्यक्ष जोशीले आग्रह गरेका छन् ।
नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।
अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछ । सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने प्रवक्ता जोशीले बताए ।

