
कैलाली – बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् ।
६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् ।
हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो ।
सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो ।
जसमा ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।
छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।
नेपाली नर्सहरूले पनि बेलायतमा दर्ता भएपछि त्यहाँका दर्ता भएका नर्सले बराबर तलब पाउनेछन् ।
सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन् ।