धनगढी — अडियोमा कुन डिभिजनले कति रकम दियो ? कसले दिएन ? फलानो सव डिभिजनले जम्मा यति दियो भन्दै प्रदेशका वननिर्देशकले टेलिफोनमा कसैलाई रिर्पोटिंङ गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा सुदूरपश्चिमका वन निर्देशक कृष्णदत्त भट्टले मदिराको नशामा प्रदेशका वनमन्त्री रमेश धामीलाई फोनमा रिर्पोटिङ गरिरहेका हुन् ।

भिडियो रेकर्ड गर्ने कर्मचारी निर्देशक भट्टलाई उद्धृत गर्दै भन्छन् ‘वननिर्देशकसँग मन्त्री धामीले माग गरेको रकम उठाउन उनले सवै वन डिभिजन र सव डिभिजन प्रमुखलाई उर्दी नै जारी गरेका थिए ।’ रेकर्ड गर्ने कर्मचारीको भनाइ पुष्टि हुनेगरी सञ्चार माध्यममा आएको भिडियोमा निर्देशक भट्टले डिभिजन र सव डिभिजनको नाम तोकेरै उठेको रकमका विषयमा टेलीफोनमा जानकारी दिइरहेका छन् ।
एक साताअघि भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका वन मन्त्रालयका उपसचिव हेमराज विष्ट अदालतबाट सफाइ पाएर कार्यालयमा हाजिर भए । उनी प्रदेशका निमित्त क्षेत्रीय वन निर्देशक हुँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोपमा निलम्बनमा परेका थिए । अदालतले सफाइ दिएपछि उनी सोही पदमा मन्त्रालयमा हाजिर भए । तर मुख्यमन्त्री कमलबहादुर शाह र मुख्य सचिवको दबाबमा उनको ठाउॅंमा निमित्त वन निर्देशक कृष्ण भट्टलाई नै पुनः नियुक्त गरियो । विष्टलाई मन्त्रालयमा तानियो । विष्टले वनमन्त्री धामी, पूर्व वनमन्त्री दार्चुलाबाट निर्वाचित माओवादी नेता मानबहादुर धामी, एमालेका केही नेतालाई वन निर्देशकमा बहाल हुन प्रयोग गरेका थिए ।
भट्ट नै पुनः निमित्त वननिर्देशक नियुक्त भएपछि उनले विभिन्न जिल्लाका वन डिभिजन र सव डिभिजन प्रमुखसँग घूस मागेको भिडियो सञ्चार माध्यममा आयो । मदिराको नशामा उनी आफैंले कसले कति रकम दियो भनेर बोलेका छन् । उक्त भिडियो उनकै एकजना सहयोगीले रेकर्ड गरेर सञ्चार माध्यमलाई उपलब्ध गराएका हुन्
गत साता नै दत्तले बोलेको भिडियो बाहिरिएर प्रदेश सभामा छानिबन र कारबाहीको माग उठेपछि गत सोमबार नै प्रदेश संसदको सार्वजनिक लेखा समितिले पूर्व वनमन्त्री मानबहादुर धामीको नेतृत्वमा ४ जना सांसद सम्मिलित छानबिन उपसमिति बनाएको छ । जसमा सबै दलबाट निर्वाचित सांसदको प्रतिनिधित्व छ । समितिमा सांसद मान बहादुर धामी, खेमा विष्ट, वेलबहादुर राना मगर र टीका थापा छन् ।
“वन मन्त्रालयभित्र देखिएका बेथिति राजनीतिक संरक्षणमा भइरहेका हो । ” वन मन्त्रालयका एक उच्च अधिकारीले भने- निमित्त निर्देशक नियुक्तिमा राजनैतिक लडाईं बाहिर आएको मात्र हो” तर कृष्णदत्त भट्ट पटक पटक विवाद मा आउने ब्यक्ति हुन र उनलाइ जोगाउने प्रयासमा उच्च राजनैतिक नेतृत्व लागेपछि वन प्रशासनका अधिकारीहरुले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन ती अधिकारीले भने ।

