सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड
दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको छ।
करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहित आधुनिक बजार बनेको छ। विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले स्थानीय अर्थतन्त्रमा नयाँ गति दिएको हो।
व्यापारी धनसिंह लोथ्यालका अनुसार सडक पुगेपछि मकरीगाडमा बिहानदेखि साँझसम्म चहलपहल बढेको छ। “पहिले खाना–बासकै व्यापार थियो, अहिले सबै किसिमका सामान यहाँ पाउन सकिन्छ,” उनले भने।
धनगढीबाट आउने रात्रिकालीन जिपहरू बिहानै मकरीगाड पुग्ने गरेका छन्। विटुले–पारिबगर–मकरीगाड सडकखण्डमा अहिले पारिबगरसम्म ग्राभेल र त्यसपछाडि कच्ची सडक सञ्चालनमा छ। नियमित रूपमा मालबाहक ट्रकहरू मकरीगाडसम्म पुग्ने गरेका छन्।
स्थानीय व्यापारी विसनसिंह धामीका अनुसार विद्युत्...












