अछाम – अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मतगणना सम्पन्न भएको लगत्तै साउँदले आफ्नो प्रतिस्पर्धी स्वाँरलाई उच्च राजनीतिक सम्मानसहित बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने कामना गरेका हुन्। उनलेे निर्वाचन सकिएसँगै प्रतिस्पर्धीलाई सम्मानपूर्वक दोसल्ला ओढाएर बधाई सहित शुभकामना दिँदै राजनीतिक संस्कारको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
साउँदले अछाम- १ का जनताले दिएको जनादेशलाई सम्मान गर्ने उल्लेख गर्दै विजयी उम्मेदवार स्वाँरले जिल्लाको विकास र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै उनले निर्वाचनमा आफूलाई मत दिएका तथा साथ–समर्थन गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेताकार्यकर्ता र सहयोगीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
साउँदले लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने बताउँदै आगामी दिनमा पनि जनताको सेवा र जिल्लाको विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार स्वाँर १० हजार ७५८ मत प्राप्त गर्दै विजय भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत पाएका छन्।
कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कांग्रेसका स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

