बझाङ– इलाका प्रशासन कार्यालय केदारस्युँ गाउँपालिका–१ देउरामा तोकेको भए पनि केही समूहले स्थान परिवर्तनको प्रयास गरेको भन्दै देउरावासीले घोर आपत्ति जनाएका छन्। नेपाल सरकारले इलाका प्रशासन कार्यालयले देउरामा तोकेको भए पनि अन्यत्र सार्ने प्रयास भएको भन्दै शुक्रबार देउरावासीले घोर आपत्ति जनाएका हुन् ।
इलाका प्रशासन कार्यालयको स्थान परिवर्तनको प्रयास विरुद्ध देउरावासीले गाउँपालिकामा विरोधसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले गाउँपालिका मार्फत जिल्ला प्रशासन कार्यालय चैनपुर र जिल्ला समन्वय समिति चैनपुरलाई ज्ञापनपत्र बुझाए ।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक पर्ने सबै सेवाहरू देउरामा रहेको स्थानीय उत्तम भण्डारीले बताए । उनले भने देउरा क्षेत्र नं २ को मध्य भागमा पर्छ, जहाँ हुलाक, बैंक, अस्पताल, स्थायी प्रहरी कार्यालय, गाउँपालिकाको कार्यालयसहितका विभिन्न सेवा प्रदायक निकायहरू उपलब्ध छन्। जिल्ला सभाबाटै देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएकोले अन्यत्र सार्ने प्रयास भएपछि विरोधसहित ज्ञापनपत्र बुझाउनु परेको उनको तर्क छ ।
ज्ञापनपत्रमा भनिएको छ, सरकारले तोकेको स्थान परिवर्तन गर्ने कुचेष्टा भएमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहनेू चेतावनी दिएका छन्।
विरोधसभामा देउरावासीले भनेका छन्, “सरकारले हाम्रो जायज माग सुनेन र इलाका प्रशासन कार्यालय अन्यत्र सार्ने निर्णय गर्यो भने, देशका जुनसुकै स्थानमा कठोर आन्दोलन गर्न हामी बाध्य हुनेछौं।

झोतामा कार्यालय हुनुपर्ने माग
केदारस्यूँ गाउँपालिका-९ झोताबासीले पनि इलाका प्रशासन कार्यालय झोतामै हुनुपर्ने बताउँदै आएका छन् । इलाका प्रशासन कार्यालयका लागि हुनुपर्ने मापदण्ड सबै झोतामा रहेको उनीहरुको दावी छ ।
उनीहरूले केही समय अगाडि देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय चैनपुरमै पुगेर बिरोधि सहित झोतामा इलाका प्रशासन कार्यालय स्थापनाको माग राखेका थिए । त्यस्तै बारम्बार जिल्ला सभाबाटै इलाका प्रशासन कार्यालय झोतामा स्थापना गर्ने निर्णयभएकाले उक्त निर्णय कार्यनयन गर्न सरकारसँग उनीहरुको माग छ।
कार्यालय स्थापना झोता कि देउरा ?
सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गर्यो । भदौ ९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठायो । इलाका प्रशासन कार्यालय स्थापनाको सुचिमा बझाङ जिल्ला पनि समावेश थियोे ।सरकारले सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न निर्वाचन क्षेत्र नं २ मा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियोे । त्यसपछि इलाका प्रशासन कार्यालय देउरामा हुने आवाज गुन्जियो । सामाजिक सञ्जालमा झोता र देउराबासीले आआफ्नो क्षेत्रमा इलाका प्रशासन स्थापना हुनुपर्ने धारण व्यक्त गरे । तर इलाका प्रशासन देउरा हुने कि झोता हुने भन्ने अझै टुंगो लाग्नसकेको छैन ।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला सभाको निर्णय आवश्यक पर्छ । झोतामा इलाका प्रशासन स्थापनाको लागि ३ चोटि निर्णय गरिएको छ भने १ चोटि देउराका लागि निर्णय गरेको पाइन्छ ।
८ औं जिल्ला सभाबाट देउरामा इलाका प्रशासन स्थापना गर्ने निर्णय भएको थियोे । यसअघिको ५,६ र ७ औं जिल्ला सभाले झोतामा इलाका प्रशासन स्थापना गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिले जनाएको छ । ९ औं जिल्ला सभाले भने यो विषय विवादित बनेपछि कुनै निर्णय गरेन ।
यसरी दुबै ठाउँमा कार्यालय स्थापनाको निर्णयले अहिले समस्या खडा भएको छ । देउरा र झोतामा बासीले आआफ्नो ठाउँमा इलाका प्रशासन स्थापना हुनुपर्ने माग राखेपछि यो विषय चर्चामा छ । दुई पक्षबिच सहमति नहुँदा इलाका प्रशासन कार्यालय स्थापनाको कार्य अघि बढ्न सकेको छैन ।
कार्यालय स्थापनाको विषय विवादित बनेपछि गृह मन्त्रालयले जिल्ला समन्वय समिति बझाङलाई पत्र पठाएको छ । कार्यालय कुन ठाउँमा स्थापना गर्दा उपयुक्त हुन्छ निर्णय उपलब्ध गराइदिन भनेर मन्त्रालयले १७ भदौमा पत्र पठाएको हो ।

यश विषयमा समन्वय समिति सँग बुझ्दा जिल्ला सभा बोलाएर निर्णय गरि स्थान तोकेर पठाउने जनाएको छ ।
जिल्लाबाट पायक पर्ने स्थान तोेकि पठाइएपछि मन्त्रिपरिषदको प्रशासन समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।

