दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका छन्।
ठूलो रकम अपचलन गरेको अभियोगमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन् । महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक तथा प्रवक्ता छत्र रावतले जानकारी दिए। अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
चारै जनाको मिलेमतोमा दुई करोड ८४ लाख ७६ हजार नौ सय २ रुपैयाँ अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेपछि भएको अनुसन्धानमा उनीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म “वान एक्स बेट” मा बैंकको रकम लगानी गरेको पाइएको हो।
बैंकको मूल खातामा मौज्दात रकम देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको प्रमाण भेटिएपछि उनीहरूलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो। महालक्ष्मी विकास बैंकले उनीहरुलाई तत्काल निलम्बन गर्दै शाखाको जिम्मेवारी हेमराज जोशीलाई दिएको छ। जोशीका अनुसार आइतबारदेखि बैंकको कामकाज नियमित रूपमा चलिरहेको छ।

