धनगढी— कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ। अत्तरियाको दुर्गा मन्दिर परिसरमा हत्या गरी फालिएको अवस्थामा भेटिएको शव डडेल्धुरा, अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पुष्टि भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाका अनुसार शवको सनाखत मृतकका दाइ राम कैनीले गरेका हुन्। शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ।
डिएसपी थापाका अनुसार जगदीश कैनी घरपरिवारसँग नियमित सम्पर्कमा नरहने व्यक्ति थिए। “उहाँको स्थायी घर डडेल्धुरामा हो, तर बसोबास स्थायी थिएन,” थापाले भने, “मोबाइल पनि नबोक्ने, परिवारसँग सम्पर्क पनि नगर्ने बानी थियो।”
प्रहरीका अनुसार मृतकको आमा–बुबा, श्रीमती र छोराछोरी छैनन्, तर दाजु–भाउजू छन्।
हत्या कसले र किन गर्यो भन्ने अझै खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत बुधबार (चैत २७) विहान अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। अनुहार पहिचान गर्न नसकिने गरी क्षतविक्षत अवस्थामा शव भेटिएको थियो।

