धनगढी- नेपालमा गैंडा गणना कार्य प्रभावित हुने भएको छ ।
अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआडी) को सहयोग रोकिंदा नेपालमा यस वर्ष गर्ने गैंडा गणना कार्य नै प्रभावित हुने भएको हो । गैंडा गणना कार्य दाताको भरमा मात्रै हुँदै आएकोले युएसएआइडीको सहयोग रोकिएसँगै संकटमा परेको हो । हरेक पाँच–पाँच वर्षमा गरिने गैंडा गणना यो वर्ष चैत ५ गतेदेखि २५ गतेसम्म गर्ने तयारी थियो ।
गैंडा गन्न चाहिने जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख सबै खर्च युएसएआइडीले बोहोर्ने सहमती थियो । तर सहयोग रोकिएपछि खरिद प्रक्रिया नै स्थगीत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ ।
युएसएआइडीको जलजङ्गल परियोजनासँगै विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । तर झन्डै ५० लाखका उपकरण किन्ने सहयोग नै रोकिएपछि अरू निकाले पूरा खर्च व्यहोर्न नसक्ने बताएका छन् । चैतपछि गैंडा गन्न नसकिने भएकोले अब कार्यक्रम स्थगीत गर्नुको विकल्प नरहेको आचार्यले बताउनुभयो ।
यसपाली गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिंदा बाघ गन्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बताउनुभयो ।

