बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बझाङले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ऐनबहादुर महर सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको केन्द्रबाट प्राप्त निर्देशन तथा निर्वाचन प्रक्रियाअनुसार जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको हो । सिफारिस सूचीमा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरसँगै जिल्ला कमिटी बझाङका पूर्व उपाध्यक्ष मोहनराज जोशी तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री रहेका छन् ।
ऐनबहादुर महर अनेरास्ववियुका पूर्व अध्यक्ष हुन् । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनी पाँच दलीय गठबन्धनका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए । यो क्षेत्रकै प्रभावशाली नेता मानिने युवा नेता तथा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महर योपटक पनि चुनाव लड्ने विषयले चर्चा पाएको छ ।
एमाले जिल्ला कमिटी बझाङका अनुसार पार्टीको विधान र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी मापदण्डअनुसार आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवार सिफारिस गरिएको हो । सिफारिस गरिएका नामहरू पार्टीको माथिल्लो कमिटीमा पठाइसकिएको जनाएको छ ।

