काठमाण्डौ- प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच आगामी निर्वाचनको तयारी र अनुकूल वातावरण बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न छलफलमा मुख्यमन्त्रीहरूले संघ सरकारसँग मिलेर चुनावी वातावरण निर्माणमा सहयोग गर्न तयारी रहेको बताएका छन्।
मुख्यमन्त्रीहरूले चुनावको मुख्य चुनौती शान्ति–सुरक्षाको विषय रहेको बताउँदै यसमा गम्भीरतापूर्वक लाग्न सरकारलाई सुझाव दिएका छन्। उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गर्न सके तोकिएको मितिमै चुनाव सम्पन्न गर्न सकिने बताएका छन्।
जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि संघ सरकारले विशेष प्याकेज ल्याउनुपर्ने माग मुख्यमन्त्रीहरूले गरेका छन्।
त्यस्तै, खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्न पनि उनीहरूले आग्रह गरेका छन्। साथै, डेडिकेटेड र ट्रंकलाइन फिडरको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग सञ्चालन, मजदुरको रोजगारी र सरकारको राजस्वमा नकारात्मक असर पर्ने भएकाले त्यसबारे पुनर्विचार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

