काठमाण्डौ- नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण देशभर वर्षा भएको थियो, जसका कारण केही दिन जनजीवन प्रभावित भएको थियो। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो। हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र, मनाङका टोलीले सकुशल उद्धार गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण संकलन गरिएको थियो। तीमध्ये १८५ वटा केन्द्रले उल्लेख्य मात्राको वर्षा मापन गरेका छन्।
सबैभन्दा बढी वर्षा लमजुङको बेँसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर रेकर्ड गरिएको थियो। त्यस्तै चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको प्राधिकरणले जनाएको छ।

